युके । संविधान पुनर्लेखन गर्न नेपाल सरकारलाई दबाव दिने उद्देश्यले संघीय गठबन्धनले युकेको संसद भवन अगाडि धर्ना दिएको छ ।
काठमाडौंको खुलामञ्चमा जारी गठबन्धनको अनसनमा ऐक्यवद्धता जनाउँदै लण्डनको टफाल्गर स्क्वायरमा भेला भएर संसद भवन अगाडि आगाडि पुगेर विरोध कार्यक्रम गरिएको थियो ।
नेपालमा जारी अनसन दोस्रो हप्ता पूरा भइसक्दा पनि सरकारले माग सुनुवाई नगरेकाले आफूहरु विरोध प्रदर्शनमा उत्रिएको संघीय समाजवादी फोरम युकेका कार्यवाहक अध्यक्ष जंग सुनुवारले बताए ।
कार्यक्रममा सहभागीहरुले जनजाति, मधेसी र शिल्पी लगायतलाई मास्ने र सिध्याउने ब्यवस्था भएको जारी संविधानको खारेज गर, संविधान पुनर्लेखन गर, देशलाई द्वन्द्वतिर घकेल्ने प्रधानमन्त्री केपी ओली राजिनाम दे, ७ प्रदेशको सट्टा १० वा १४ प्रदेश कायम गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले आन्दोलनमा मारिएकाहरुको फोटो समेत बोकेका थिए ।
कार्यक्रमा सहभागिहरुले नेपालमा जारी आन्दोलनको समिक्षा गर्दै विभिन्न रचनाहरु बाचन गरेका थिए । लक्ष्मण तुलाचन, भगवान चाम्लिङ, पदम गाह, जंग सुनुवार, बालकृष्ण राई, नरेश काङमाङ राई, कमल प्रसाद थुलुङ, तिल बहादुर गुरुङ, भिमबहादुर गुरुङ, विश्वासहाङ खेवाहाङ, भक्तबहादुर दुरा, इन्द्रबहादुर दुरा लगायतले सम्बोधन गरेका थिए ।
source:http://www.onlinekhabar.com/2016/06/443124/
Post a Comment